जापानमा रोल्पाली–रुकुमेली समुदायद्वारा भव्य रूपमा मनाइयो भूमे पर्व

June 23, 2026

जापानमा रोल्पाली–रुकुमेली समुदायद्वारा भव्य रूपमा मनाइयो भूमे पर्व
टोकियो, जापान । रोल्पा समाज जापान र रुकुम समाज जापानको संयुक्त आयोजनामा टोकियोस्थित कसाई रिन्काइ पार्क मा भूमे पर्वको अवसरमा आयोजित भूमे पूजा, सांस्कृतिक नाच तथा BBQ कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रममा जापानका विभिन्न क्षेत्रबाट आएका रोल्पाली, रुकुमेली तथा अन्य नेपाली समुदायका सदस्यहरूको उल्लेखनीय सहभागिता रहेको थियो। सहभागीहरूले परम्परागत भूमे पूजा गर्दै आफ्नो मौलिक संस्कृति, रीतिरिवाज र पहिचानलाई स्मरण गरेका थिए भने विभिन्न सांस्कृतिक नाचगानमार्फत कार्यक्रमलाई थप आकर्षक बनाएका थिए। कार्यक्रमको अर्को विशेष आकर्षण सामूहिक BBQ (बार्बेक्यु) तथा वनभोज रहेको थियो। सहभागीहरूले आपसी भेटघाट, शुभकामना आदानप्रदान तथा सामूहिक भोजनमार्फत पारिवारिक वातावरणको अनुभूति गरेका थिए। विदेशी भूमिमा रहेर पनि आफ्नो भाषा, कला, संस्कृति, भेषभूषा र परम्परालाई संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको उक्त कार्यक्रमले नेपाली समुदायबीच आपसी एकता, सद्भाव र भाइचारालाई अझ मजबुत बनाएको सहभागीहरूको भनाइ रहेको छ। कार्यक्रम सफल बनाउन प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग गर्ने सम्पूर्ण महानुभावहरू, प्रायोजकहरू, स्वयंसेवकहरू, कलाकारहरू तथा उपस्थित सम्पूर्ण सदस्यहरूप्रति आयोजक समितिले हार्दिक धन्यवाद तथा आभार व्यक्त गरेको छ। “विदेशमा रहे पनि आफ्नो संस्कृति बिर्सनु हुँदैन, संस्कृति जोगियो भने हाम्रो पहिचान जोगिन्छ” भन्ने सन्देशका साथ सम्पन्न कार्यक्रमले जापानस्थित नेपाली समुदायमा उत्साह, एकता र सांस्कृतिक जागरणको सन्देश प्रवाह गरेको छ।
Go Back