भावपूर्ण श्रद्धाञ्जली

May 12, 2025

भावपूर्ण श्रद्धाञ्जली
एक्लोपनले घेरेको अन्त्येष्टि – हाम्रो सामूहिक जिम्मेवारी काभ्रे निवासी जमुना दनुवार बहिनीको अप्रिल १६ मा भएको निधनपछि जापानमा उहाँको नजिक कोही पनि नभएको अवस्थामा उहाँको अन्त्येष्टि गर्नु अत्यन्तै चुनौतीपूर्णसहित दर्दनाक बन्न पुग्यो । निजको मृत्यु पश्चात प्रहरी, अस्पताल र सिटी अफिसका सबै कानुनी प्रक्रिया पूरा गर्न थुप्रै पटक धाउनुपर्‍यो । सुरुवाती चरणमा गरिनु पर्ने आवश्यक सहयोगका लागि नजिकको कोही पनि नहुँदा खास प्रवासको बसाई र त्यसबाट भोग्नु पर्ने पीडा अझै नमीठो रह्यो । अन्ततः थुप्रै अनुरोध र प्रयासपछि, उहाँका एक आफन्तज्यूलाई सम्झाएर कानुनी प्रक्रिया पूरा गरियो। हिजो, अन्तिम रूपमा हामीले बहिनीलाई बिदाइ गर्न सक्यौं—तर त्यो अन्तिम बिदाइले साँच्चिकै परदेशीको पीडालाई गहिरो गरि अनुभूति गरायो। बहिनीको अन्त्येष्टिले खासमा प्रवासमा आफन्तजन अनि नजिकको साथीभाइ नहुँदा सामाजिक संघ संस्था नै आफन्त हुने रहेछन् भन्ने महसुस भयो—हामी नेपालीहरू परदेशमा एकअर्काको साथ र सहाराका लागि नै त सामाजिक संघ संस्था हुन नी त्यसैको लागि त गठन गरिएको होला नि नत्र किन चाहियो त यो नाम को त्यो नामको संस्था? तर कहिलेकाहीँ केही संस्थाहरू ‘किन चाहियो?’ भन्ने जस्तो प्रश्न गरेर टाढा हुने गर्छन्। यस्ता घडीमा नजिकिएर हात बढाउनु पर्ने बेला हो, प्रश्न गरेर होइन, साथ दिएर हातमा हस्त मिलाएर अनि दुःखको बेला चाहराइरहेको घाउमा मलम पट्टी बनेर। यो दुःखद घडीमा सक्रिय बनेर आर्थिक सहयोग जुटाउदै त्यो सहयोगमार्फत अन्त्येष्टि सफलतापूर्वक सम्पन्न गर्न हातेमालो गर्ने सबै संघ–संस्थालाई प्रति हार्दिक धन्यवाद व्यक्त गर्दछु। हिजोको अन्त्येष्टिमा म स्वयं उपस्थित थिएँ। साथमा थिए—कास्की पोखरा समाज जापानका अध्यक्ष कमल बान्सथोला ज्यु र काभ्रेबाट जापान आएका दुईजना विद्यार्थी भाइहरू। यदि काभ्रे समाज जापान सक्रिय भएको भए, सायद अझ गहिरो आत्मीयता देख्न पाइन्थ्यो भन्ने महसुस भयो। समाज भनेको आपतमा साथ दिने संरचना हो। आज नभए पनि भोलि तपाईं, हामी, हामीमध्येकै कोही यस्तै परिस्थितिमा पर्न सक्छौं। त्यसैले, कुनै संस्था होस् वा व्यक्ति—नकारात्मक आँखाले हैन, सहृदय मनले हेरौं। हिजोको यो अन्त्येष्टि बहिनीको लागि मात्र होइन, हाम्रो सामूहिक चेतनाको लागि पनि एउटा सन्देश बनोस्। अन्त्यमा मृतक बहिनी प्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परवारजनप्रति समवेदना प्रकट गर्दछु।नबीन न्यूरे-अध्यक्ष NRNA JAPAN
Go Back